माघीको तयारीमा थारू समुदाय, बङ्गुरको मासु र ढिक्री विशेष परिकार
काठमाडाैं | पुस २१, २०७९
धनगढी: कैलालीसहित विभिन्न जिल्लामा बसोबास गर्दै आएका थारू समुदाय माघी पर्वको तयारीमा जुटेका छन्। समुदायको सबैभन्दा ठूलो पर्व रहेकाले धुमधामसँग मनाउनका लागि हप्तादिन अगाडिबाटै तयारीमा जुटेका हुन्। माघ थारू समुदायको नयाँ वर्ष पनि हो। थारू नयाँ सम्वत् माघ १ गतेबाट सुरु हुने गर्छ।
सबैभन्दा ठूलो पर्व र नयाँ वर्ष पनि रहेकाले धुमधामसँग मनाउने गरिएको कैलारी गाउँपालिका–१, रानामुडाका मनोज चौधरीले बताउनुभयो। उहाँका अनुसार गाउँघरतिर मानिसहरू पर्वको तयारीमा जुटेका छन्। माघ पर्वमा बङ्गुरको मासु नभई नहुने तरकारीको परिकार हो। “माघमा बङ्गुर मार्ने र मासु लिनेको लिस्ट १०–१५ दिनअगाडि नै बनिसकेको छ,” उहाँले भन्नुभयो।
पर्वको चहलपहल सुरु भइसकेको छ। गाउँघरतिर माघ सम्बन्धित गीत गुञ्जिन थालेका छन्। पर्वको रौनक बढ्न थालेको छ। अहिले मान्छेहरू जङ्गलबाट सालको पात टिपेर ल्याउने, दुनाटपरी बनाउने, कुटानी, पिसानी गर्नेलगायतका कार्यमा जुटेका छन्।
माघ पर्वमा नभई नहुने थारू परिकार ढिक्री हो। जुन चामलको पिठोबाट बनाइने गरिन्छ। ढिक्री खानका लागि चामलको पिठो बनाउन कुटानी, पिसानीको कार्य भइरहेको कैलारी गाउँपालिका–१, मोहनपुरकी फूलरानीदेवी चौधरीले बताउनुभयो। “बिस्तारै बिस्तारै गाउँघरका सबै जना तयारीमा जुटेको देखिन्छ,” उहाँले भन्नुभयो, “हाम्रो पनि तयारी भइरहेको छ।”
यो समुदायका मानिसले तीन दिनसम्म माघी पर्व मनाउने गर्छन्। पुस अन्तिम दिनबाट पर्व सुरु हुने गर्छ। पहिलो दिन वर्षभरिको दुःख पीडा बिर्सेर मासु, भातलगायत मीठा परिकार खाएर रमाउने चलन रहेको छ। कतिपय गाउँ, ठाउँमा यस दिन नाचगान पनि हुने गर्छ। माघ १ गते अर्थात् पर्वको दोस्रो दिनलाई ‘लहान’ भन्ने गरिन्छ। यो दिन बिहानै नदी, दह, तलाउमा नुहाइधुवाई र पूजापाठ गरेर ठूलाबडा, घरको पुर्खाबाट आशीर्वाद लिने गरिन्छ। यसैगरी एकअर्कालाई भेटघाट गरेर शुभकामना आदानप्रदान गर्नुका साथै ढिक्री, मासुलगायतका परिकार खाने गरिन्छ। पर्वको दोस्रो दिन नयाँ वर्ष रहेकाले सबैसँग मीठो बोल्ने, खराब आचरण त्याग्नेलगायतको शुभकार्यको सुरुवात गर्ने गरिएको बताइन्छ।
माघ पर्वको तेस्रो अर्थात् अन्तिम दिन घरपरिवार र गाउँ समाजमा ‘खोज्नीबोज्नी’ गर्ने गरिन्छ। यसै दिन गाउँको नेतृत्व गर्नका लागि भलमन्सा चयन गर्ने गरिन्छ। धार्मिक, सामाजिक महत्व बोकेको माघ पर्व थारू समुदायका मुक्तकमैयाका लागि मुक्तिको पर्व पनि हो। तत्कालीन समयमा मालिक वा जमिनदारका घरमा कमैया, कमलहरी बसेकाहरू माघी पर्वमा मात्रै छुट्टी पाउने गरेको यस समुदायका मानिस बताउँछन्। त्यसैले मुक्तकमैया होस वा जुनसुकै वर्गका थारू परिवारले माघ उल्लासपूर्वक मनाउने गर्छन्।
माघ पर्व मनाउनका लागि देश, विदेश रहेका पनि घर फर्कने गर्छन्। माघ ठूलो र खुसीको पर्व रहेकाले बस्तीमा नाचगान गरेर मनाउने गरिएको धनगढी उपमहानगरपालिका–१, वसन्त टोल मुक्तकमैया बस्तीका जालुराम चौधरीले बताउनुभयो। “त्यसका लागि हामी तयारीमा जुटिसकेका छौँ,” उहाँले भन्नुभयो। माघमा रमाउनका लागि विभिन्न धार्मिक स्थल र गाउँमा मेलाको तयारी पनि भइरहेको छ।
तनहुँ: तनहुँको व्यास नगरपालिका–३ बिपी वनवाटिकास्थित कभर्डहल खेलकुद विकास समिति तनहुँमार्फत सञ्चालन गरिने भएको छ । व्यास नगरपालिकाको लगानीमा निर्माण भएको कभर्डहल खेलकुद विकास समितिलाई हस्तान्तरण गर्न लाग...
काठमाडौं: राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जना...
पोखरा: पोखरा महानगरपालिका १५ द्धारा आयोजित चौथो वडास्तरीय खेलकुद महोत्सव सम्पन्न भएको छ । वडास्तरीय खेलकुद महोत्सव अन्र्तगत पुरुष फुटबलतर्फ सानीमजुवा युवा क्लब विजयी हुँदा महिला भलिबलतर्फ जन ...

